भरत तालमा पर्यटकको घुइँचो बढेपछि निजी क्षेत्रको लगानीमा सुविधा थप
- २६ फाल्गुन २०८०,शनिबार Updated
- / 109 Read
बारा । सर्लाहीको बाग्मती नगरपालिकाले निर्माण गरेको भरत तालमा आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो बढेपछि निजी क्षेत्रहरूको लगानीमा सेवा सुविधाहरू थप गरिएको छ । २ वर्षअघि तालमा बोटिङको मात्रै सुविधा रहेकोमा अहिले जिपलाइन, वाटरसाइकल, स्काइ साइकलिङ, उँट र घोडामा चढेर तालको वरपर अवलोकन गर्ने र वृद्धवृद्धाहरूका तथा बालबालिकाहरूलाई मिनी रेल, सर्वसाधारणहरूका लागि फोटो खिच्न र भिडियो बनाउन क्यामरामेनको समेत व्यवस्था गरिएको हो ।
वाग्मती नगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा चालु आर्थिक वर्षदेखि पर्यटकहरूका लागि एक दर्जनभन्दा धेरै सुविधाहरू थप गरेको छ । जसका कारण दैनिक हजारौँको सङ्ख्यामा ताल घुम्न आन्तरिक तथा बाह्य पर्यटकहरूको भीड लाग्ने गरेको छ ।
भरत ताल घुम्न आएकी बारा जीतपुरसिमरा–२१ की सीता केसीले बोटसँगै तालमा स्काई साइकलिङ, वाटर बाइक, उँट, घोडा चढेर घुम्न सक्ने सुविधा थप भएपछि झनै रमाइलो भएको बताएकी छिन् । ‘पहिला पहिला आउँदा यहाँ बोट मात्रै थियो, अहिले धेरै विकास भएको रहेछ । यहाँ आउँदा विदेशमा घुमेको जस्तो लाग्यो,’ केसीले भनिन् ।
भरत ताल घुम्न आएका बर्दिबासका अवधेश कुमार यादवले पनि विगतको तुलनामा भरत तालमा धेरै सुविधा थपिएको बताएका छन् । ‘२÷३ वर्षदेखि लगातार आइरहेको छु । अहिले धेरै सुविधाहरू थपिएपछि झनै रमाइलो भएको छ,’ यादवले भने ।
वरपरको भूभागसहित भरत ताल २२१ बिगाहा क्षेत्रफलमा फैलिएको छ । नेपाली तथा अङ्ग्रेजी नयाँ वर्ष, शनिवार र अन्य सार्वजनिक बिदाको दिन यहाँ पर्यटकहरूको भिड लाग्ने बोटिङ सञ्चालक सुशीलकुमार वाइवाले जानकारी दिए ।
Share News
For Add Product Review. You Need To Login First Login Page
-
LATEST
-
POPULAR